भदौ २७, २०८१ बिहिबार

धुलिखेल, २७ भदौ : जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोकको बुधवार भएको ४३औँ साधारण सभामा अमन पोटे अध्यक्षमा विजयी हुनुभएको छ । मध्यराति सम्पन्न भएको मतगणना परिणाम अनुसार उहाँले एक सय ९० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

    उहाँका प्रतिस्पर्धी राजन शाक्यले एक सय ४९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट सहकारीकर्मी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट सहकारीकर्मीबीच गठबन्धन गरेर प्रतिस्पर्धा भएको हो । 

    समितिको महिला उपाध्यक्षमा गठबन्धनको तर्फबाट मिरा सत्यालले एक सय ७२ मत प्राप्त गर्नुभएको छ भने अर्का उपाध्यक्षमा शान्ति तामाङले एक सय ७० मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा भने एमालेबाट प्रकाश बञ्जारा विजयी हुनुभएको छ । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट अर्जुनप्रसाद सापकोटा विजयी हुनुभएको छ ।

    सदस्यहरुमा क्रमशः अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्वसागर रञ्जित, मोहनकुमार श्रेष्ठ र रोशनकुमार श्रेष्ठ विजयी हुनुभएको छ । एकजना महिला सदस्यमा देवकी तिमल्सिना दाहाल निर्विरोध हुनुभएको थियो । 

    सङ्घको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा गठबन्धनका तर्फबाट डिल्लाप्रसाद आचार्य र सदस्यमा पवनराज कर्णजित विजयी हुनुभएको छ । निर्वाचनमा नेकपा एमाले निकट सहकारीकर्मीबाट कोषाध्यक्ष र एकजना सञ्चालक सदस्यमा विजयी हुनुभएको छ । बुधबार भएको मतदान प्रक्रियामा तीन सय ४३ सदस्यले मतदान गर्नुभएको थियो ।