भदौ २७, २०८१ बिहिबार

भोजपुर, २७ भदौ : जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो । 

    गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात् आधिकारिक रुपमा प्रशिक्षक नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । पालिकाको गरिमा बढाउँदै राष्ट्रका लागि असल र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ खेल क्षेत्रको विकासमा जुटेको उहाँले बताउनुभयो । 

    “अन्य क्षेत्रको योजनाबद्ध विकाससँगै समग्र खेल क्षेत्रको विकासमा पनि पालिका योजनाबद्ध रुपमा जुटेको छ”, अध्यक्ष राईले भन्नुभयो, “हामीले ऐन बनाएर खेलकुद समिति गठन गरेका छौँ । दक्ष र व्यावसायिक खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” उहाँका अनुसार दीपक आलेलाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।

    यहाँका नौ स्थानीय तहमध्ये यसरी ऐन बनाई खेलकुद विकास समिति गठन गरेर प्रशिक्षक नियुक्त गर्ने पौवादुङमा गाउँपालिका पहिलो स्थानीय तह बनेको छ ।