भदौ २७, २०८१ बिहिबार

राँझा(बाँके), २७ भदौः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । सदरमुकाम नेपालगञ्जबाट ४४ किलोमिटर टाढा छ नरैनापुर । 

साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरेपनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ । “भदौरे उखरमौलो गर्मीले यतिबेला नरैनापुरमा पैदल हिँडडुुल गर्न कठिन छ । भनेको समयमा सवारीसाधन पाउन मुुस्किल भएको बेला अटो रिक्साले सबैको ध्यान तानेको छ ।”,

स्थानीय ताजमोहम्मद खान भन्नुहुन्छ, “नरैनापुरमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई धेरै सहयोग पुुगेको छ ।”नरैनापुर गाउँपालिका कार्यालय अगाडि सडकमा अटो रिक्सा यात्रुको पर्खाइमा रहेका हुन्छन् । साना दुुरीका यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि सजिलो बनेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटो रिक्साले स्थानीयवासीलाई धेरै सहज बनाएको उहाँको भनाइ छ ।

नरैनापुर–५ मटेहिया जमुनीगाउँकी टीका बुढाथोकीलाई सदरमुकाम नेपालगञ्ज आउनजान बस कुरेर बस्नुपर्दैन । हिजोआज रिक्सा चढेर  एक घण्टामै नेपालगञ्ज आइपुुग्न सकिन्छ । “रिक्सामा चढेपछि न घामपानीले प्रभावित पार्छ, न त धेरै समय नै लाग्छ । सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ ।”, बुढाथोकीले भन्नुभयो ।  

नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटो रिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकल जस्ता निजी सवारी साधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटो रिक्साले ठूलो सुविधा मिलेको बुढाथोकीको भनाइ छ । 

अटो रिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने गरेको गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताउनुभयो ।  

पक्की सडक बनेसँगै स्थानीय युवाले अटो रिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएका छन् । रु पाँच लाखको लगानीमा रिक्सा खरिद गरेर स्थानीय युवा लक्षिराम यादवले नरैनापुरदेखि नेपालगञ्जसम्म अटो रिक्सा सञ्चालन गर्दै आउनु भएको छ । एक लिटर पेट्रोलले सडकको अवस्था हेरेर कच्ची सडकमा ६ देखि ८ किलोमिटर र पक्की सडकमा १० देखि १२ किलोमिटर माइलेज दिने उहाँले बताउनुभयो । 

चार सिट क्षमताको अटो रिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडादेखि नेपालगञ्जसम्मको प्रति व्यक्ति रु दुई सय ५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु दुई सय भाडा लिने गरेको यादवको भनाइ छ । वर्षाद्को बेला राप्ति नदीको सिधनियाघाट क्षेत्र र नरैनापुरको खहरे खोला बग्ने दुई स्थानमा रिक्सा सञ्चालनमा कठिनाइ आउने गरेको उहाँले जानकारी दिनुभयो । 

हुलाकी सडक नबन्दासम्म भारतीय भूमि प्रयोग गरेर नरैनापुर जानुपर्ने अवस्था थियो । सडकको पहुँचसँगै सञ्चालनमा आएका ठूला साना सवारीसाधनले नरैनापुरलाई चलायमान बनाउन सहयोग पुगेको नरैनापुर क्षेत्रका जनप्रतिनिधि बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताउनुभयो ।