भदौ ३०, २०८१ आइतबार

काठमाडौँ, ३० भदौः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पु¥याएको हो । 

    नारायणी नदीमा निर्माण गरिएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुनेगरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्‍याइएको हो । 

    प्राधिकरणले ११ केभी लाइन पु¥याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो ।  

    गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्ताबस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन । 

    सुस्ताबस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न गरिएको छ । अब त्यहाँबाट उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन सुरु गरिनेछ । सुस्ताबस्तीमा करिब तीन सय ५० घरधुरी छन् । 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिनुभयो । “सुस्ताबस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भए पनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रीड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाटसमेत महत्वपूर्ण छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।  

    यस्तै चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सीमानाका बस्तीहरु पनि छिट्टै विद्युतीकरण गर्ने तयारी छ । रु एक करोड ३३ लाख अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुञ्जेलसम्म पर्खनु परेको थियो । 

    प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ । 

    प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्तीबस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पुर्‍याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ ।