भदौ ३०, २०८१ आइतबार

काठमाडौँ, ३० भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेनु चन्दले आफ्नो पार्टीले नेतृत्व गरेको सशस्त्र सङ्घर्षलाई गलत नियतका साथ ‘हिंसा’का रुपमा अथ्र्याइनु गैरसंवैधानिक भएको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले जनताले आफ्ना अधिकारका लागि सङ्घर्ष गर्नुलाई हिंसा मान्न नसकिने बताउनुभयो ।
 
        “आफ्नो अधिकारका लागि युद्ध गर्नु हिंसा होइन । जनताले लडेको युद्ध कहिल्यै हिंसा हुन सक्दैन”, सांसद चन्दले भन्नुभयो, “गरिमामय संसदमा असंवैधानिक शब्दको प्रयोग गर्न पाइँदैन, पटकपटक जनयुद्धको अपमान गर्ने कार्य बन्द गर्नुहोस् ।”
 
        नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले सत्ता मोह त्यागेर आमनागरिकका समस्या समाधानमा केन्द्रित हुन राजनीतिक दल र सरकारलाई आग्रह गर्नुभयो । स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा युवा पलायन बढेको उल्ल्ेख गर्दै उहाँले युवा उद्यमशीलताका कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।
 
        माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नेपालगञ्जस्थित कर्णाली प्रदेश तालिम केन्द्रलाई यथाशीघ्र प्रदेश राजधानी सुर्खेतमा स्थानान्तरण गर्न सरकारको ध्यानर्कषण गराउनुभयो । 

    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद इन्दिरादेवी गौतम चाडपर्व नजिकिँदै गरेको अवस्थामा सडक यात्रालाई थप सुरक्षित बनाउने योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो ।