भदौ ३१, २०८१ सोमबार

लेखनाथ (कास्की), ३१ भदौः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस रजिष्ट्रार नियुक्त गरेसँगै अब गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीका समस्याको समाधान प्रेस रजिष्ट्रारबाट खोजिने बताउनुभएको छ ।  

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले केही दिन अघि मात्र बिमला भण्डारीलाई सञ्चार रजिष्ट्रारमा नियुक्त गरेसँगै आज भण्डारीलाई सपथग्रहण गराइएको छ । गण्डकी प्रदेशमा लामो समयदेखि पारित नभएको आम सञ्चार विधेयक पारित भएसँगै सञ्चारकर्मी भण्डारीलाई प्रेस रजिष्ट्रारमा नियुक्त गरिएको हो । 

पत्रकारिता क्षेत्रमा हुने जस अपजस अब आफूले लिनु नपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको सञ्चार क्षेत्र अब यहाँको आम सञ्चार विधेयकले बनाएका ऐन नियमअनुसार हुने बताउनुभयो । 

पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उहाँले सङ्घीय सरकारलाई बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रबाट गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार नियुक्त भएकाले आफूले ऐन कानुनमा रही पत्रकारको हक हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।