असोज १, २०८१ मंगलबार

अत्तरिया (कैलाली), १ असोजः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘खेतबारी नराखौँ बाँझो, अन्नबाली फलाउँ मिलाई चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

प्रदेशका पहाडी भेगमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल, तरकारी, मसलाखेती, घाँस खेती गर्न लगाउन सो अभियान सञ्चालन गरिने मन्त्री थापाले जानकारी दिनुभयो ।

 उहाँले प्रदेशमा व्यावसायिक तरकारी खेती र आधुनिक प्रविधियुक्त स्याउ, ओखर, केरा, किवी, फलफूलका बगैँचा स्थापना गरिने बताउनुभयो । मन्त्री थापाले बागबानी क्षेत्रका लागि रु २३ करोड ६९ लाख विनियोजन गरिएको बताउनुभयो ।

‘दुग्धजन्यपदार्थ तथा रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा लक्षित पोषण कार्यक्रम’का लागि रु पाँच करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । उक्त कार्यक्रम आवश्यक कार्यविधि तर्जूमा गरी कार्यन्वय गरिने उहाँको भनाइ छ । मन्त्री थापाले यसको कार्यान्वयनबाट सुदूरपश्चिमको संस्कार तथा बुवाआमाको हेरचाह भावनाले सार्थकता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रमबाट सुदूरपश्चिमको परम्परागत बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण भई पोषणयुक्त खाद्यान्नको प्रयोगमा बढोत्तरी हुने अपेक्षा गरिएको मन्त्री थापाले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आवका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । अघिल्लो सरकारले गत असार १ गते ल्याएको बजेट पारित हुन नसकेपछि सोमबार सरकारले दोस्रो बजेट प्रस्तुत गरेको हो ।

सरकारले बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ । अघिल्लो सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्र पालले गत असार १ गते रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ बराबरकै बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।