असोज १, २०८१ मंगलबार

काठमाडौँ, १ असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ  । बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले  लिएका लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो । 

आफूले मन्त्रालयको  जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उल्लेख गर्दे उहाँले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना रहेको बताउनुभयो । 

  तरकारीमा विषादीको प्रयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विषादी  न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई आग्रह पनि गर्नुभयो । किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तो कृषि बजारको आवश्यकता रहेको मन्त्री अधिकारीले भनाइ थियो  ।