असोज २, २०८१ बुधबार

म्याग्दी, २ असोज : संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्कदेखि म्याग्दी र कालीगण्डकीको दोभान हुँदै दरवाङ बसपार्कसम्म सरसफाइ गरिएको हो । 

    जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बसपार्क र कालीगण्डकी तथा म्याग्दी नदी किनार आसपासका ठाउँमा फालिएका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो । “डेङ्गुको जोखिम पनि रहेकाले सचेतनाका लागि फोहर व्यवस्थापनसँगै झाडी पनि हटाइएको छ,” उहाँले भन्नुभयो “सरसफाइप्रति समुदायलाई सचेत बनाउन साङ्केतिक रुपमा कार्यक्रम गरिएको हो ।” 

    नदी किनार र सडक छेउमा धेरै फोहर भेटिएको ठाउँ नजिकैका घरधनीलाई सम्बन्धित वडा कार्यालयमार्फत व्यवस्थापनका लागि ताकेता गर्न निर्देशन दिएको जिसस प्रमुख थापाले बताउनुभयो । 

    जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, सङघ संस्थाका प्रतिनिधिको सहभागितामा सरसफाइ गरिएको थियो । म्याग्दीमा बुधबार, बिहीबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । सार्वजनिकस्थान तथा सरकारी कार्यालय सरसफाइ र साँझ कार्यालयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान बेनी बजारमा ¥यालीको आयोजना गरिएको छ ।

     विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो । 

संविधान दिवसमा रक्तदान र सरसफाइ

    संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा आज रक्तदान र सरसफाइ कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम गर्ने निर्णय बमोजिम रक्तदान र सरसफाइ गरिएको हो । 

    दमौली अस्पताल र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा दमौली अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौली अस्पतालमा रगतको मागलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताउनुभयो । 

    अहिलेको समयमा संविधान संशोधनको आवाज उठिरहेकाले यस विषयमा छलफल गर्न आवश्यक रहेको वाग्लेले बताउनुभयो । संविधानले हरेक वर्गलाई अधिकार दिएको बताउँदै वाग्लेले संविधान समयानुकूल परिमार्जन गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रक्तदान जीवनदान भएकाले रक्तदाताले समय–समयमा रक्तदान गर्नुपर्ने बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्राडा कृष्णप्रसाद गौतमले हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्नसक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह गर्नुभयो । यसअघि व्यास नगरपालिकाको व्यवस्थापनमा दमौली बजार क्षेत्र सरसफाइ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि एवं सर्वसाधारणको उपस्थितिमा मालपोत लाइन, प्रशासन चोक, दमौली अस्पताल परिसर, खुल्ला चौरमा सरसफाइ गरिएको थियो । संविधान दिवसको अवसरमा आजदेखि शुक्रबारसम्म जिल्लामा विविध कार्यक्रम हुँदैछ ।