असोज ५, २०८१ शनिबार

खोटाङ, ५ असोज : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा–१ मा अध्ययन गर्न थाल्नुभएको छ । वाल्यकालमा विवाह भएपछि शिक्षाबाट वञ्चित उहाँ अहिले नातिनातिनीको उमेरका बालबालिकासँगै बसेर पढ्न थाल्नुभएको हो । 

    पाँच छोराछोरीका गरी २१ जना नातिनातिनीका हजुरआमा धनकुमारी सोही माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत नातिनी परिशा राईसँगै झोलामा किताब, कापीसहित शैक्षिक सामग्री बोकेर विद्यालय जाने गर्नुहुन्छ ।  

    मोबाइल फोन चलाएर सामाजिक सञ्जाल हेर्ने धोको पूरा गर्न विद्यालय भर्ना भई नियमित अध्ययन गर्न थालेको उहाँले बताउनुभयो । “सानै उमेरमा विवाह भएपछि विद्यालय जान पाइएन । अहिले पढ्ने धोको पूरा गर्न विद्यालय भर्ना भएकी छु”, उहाँले भन्नुभयो, “ढिलै भए पनि पढाइलाई दैनिकी बनाउँदा खुसी लागेको छ ।”

    धनकुमारीसँगै पाथेका गाउँकी ५२ वर्षीया पुजन दर्जी पनि सोही विद्यालयमा कक्षा–१ मा भर्ना हुनुभएको छ । तीन सन्तानकी आमा उहाँले बाल विकास केन्द्रमा अध्ययनरत नातिनी स्नेहासँग विद्यालयमा जाने गर्नुहुन्छ । 

    वाल्यकालमा पढ्ने चाहना भए पनि पूरा नभएपछि अहिले विद्यालय भर्ना भएको पुजनले बताउनुभयो । “सानो हुँदा पढ्ने चाहना भए पनि बुबाआमाले दिनुभएन्”, उहाँले भन्नुभयो, “नपढेपछि जिन्दगी अन्धकार हुँदो रहेछ । अहिले पढ्ने सपना पूरा गर्ने अवसर मिलेको छ । छोराछोरीले पनि साथ दिएका छन् ।”

    वाल्यकालमा पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जाल हेर्न पनि नसकेको पुजनले दुखेसो गर्नुभयो । “लेख्न, पढ्न जानियो भने मोबाइल चलाउन सकिन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “छोरा विदेशमा छन् । उनीहरुसँग कुरा गर्न मन लाग्छ । पढेपछि यस्ता स–साना कामका लागि कसैलाई गुहार्नु पर्दैन ।”
    
    हजुरआमा समानका धनकुमारी र पुजनले बुढेसकालमा उच्च मनोबलका साथ नियमिक विद्यालय आएर पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक उत्रप्रसाद राईले बताउनुभयो । “उहाँहरु बुढेसकालमा पनि नियमित विद्यालय आएर अध्ययन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “यसले महिलाको साक्षरता वृद्धि हुने विश्वास लिएका छौँ ।”

    धनकुमारी र पुजन नेपाली अक्षरदेखि अङ्ग्रेजीमा केही शब्द भन्न र लेख्न सक्ने हुनुभएको प्रअ राईले उल्लेख गर्नुभयो । उहाँहरुको पढाइप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौसला दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । 

    विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा अहिले तीन सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रुपमा विकट र विद्यार्थीको सङ्ख्या पर्याप्त नभएकाले चन्दा सङ्कलन गरेर ११ को कक्षा सञ्चालन गरिएको सञ्चालक समितिका संयोजक धनप्रसाद गिरीले जानकारी दिनुभयो । कक्षा १२ सम्मको अनुमति पाएको विद्यालयमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायको अध्यापन हुँदै आएको छ ।