असोज ५, २०८१ शनिबार

काठमाडौँ, ५ असोज : संस्कृतिविद्  जगमान गुरुङले हाँडिगाउँँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पु¥याउन तीन तहकै सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।

काठमाडाँै महानगरपालिका–५ हाँडिगाउँमा कैलाशकूट सामाजिक अभियानको साधारणसभाको आज उद्घाटन गर्नुहुँदै उहाँले लिच्छविकालका तीनवटा प्रमुख दरबार मानगृह, भद्रादिवास र कैलाशकूटमध्ये हाँडिगाउँस्थित कैलाशकूटको महत्व अझ धेरै रहेको बताउनुभयो ।

संस्कृतिविद् गुरुङकानुसार तीन खण्ड र सात तल्ला रहेको ऐतिहासिक कैलाशकूट भवनको एउटै सभाकक्षमा १० हजार मानिस बस्न सक्ने र यही दरबारबाट अंशु वर्माले शासन गर्नुभएको थियो ।

उहाँले हाँडिगाउँ, मालिगाउँ र धुम्रवराहको प्राचीन अभिलेख सङ्कलन गरी सङ्ग्रहालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्राडा प्रयागराज शर्माले इतिहास, सम्पदा र जात्रा पर्वका आधारमा हाँडिगाउँ नेपालकै प्राचीन र ऐतिहासिक स्थल रहेको बताउनुभयो । उहाँले पुरातात्विक प्रमाणका आधारमा प्राचीन मूर्ति, अभिलेख  र कैलाशकूट दरबारको ख्याति हाँडिगाउँले प्राप्त गरेको धारणा राख्नुभयो ।

काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले महानगरपालिकाले हाँडिगाउँलाई जीवन्तता दिन अभियान सुरु गरेको जानकारी दिनुभयो । उहाँले सम्पदा, संस्कार र पहिचान चिनाउन विगत एक वर्षदेखि हाँडिगाउँ क्षेत्रमा सडक महोत्सव सुरु गरिएको बताउनुभयो । 

महानगरले सार्वजनिक जग्गा खोजी गरी वडावासीको हितमा प्रयोग गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेकाले लिच्छविकालिन सम्पदा रहेको हाँडिगाउँ क्षेत्रको विकासका लागि सबैको सहयोगका लागि प्रजापतिले आग्रह गर्नुभयो ।

वरिष्ठ पत्रकार मोहन मैनाली र कैलाशकूट सामाजिक अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले ‘सबैलाई माया गरौँ सबैको सेवा गरौँ’ भन्ने उद्देश्यका साथ अभियानले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

त्यसअवसरमा विसं २०१० देखि बाजागाजा संरक्षणमा सक्रिय रामदास महर्जनलाई नगदसहित सम्मान गरिएको थियो ।