असोज ६, २०८१ आइतबार

काठमाडौँ, ६ असोज : प्रेसिडेन्ट विजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखाको शुभारम्भ गरिएको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको आज एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी र  होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

सो अवसरमा बोर्डका सिइओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उहाँले बताउनुभयो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पर्यटनलाई बढावाका साथै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो । होटल सङ्घका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताउनुभयो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष शङ्कर भण्डारीले पारिवारिक वातावरणमा स्तरीय सेवा दिइरहेको जानकारी दिनुभयो । विसं २०६२ देखि हस्पिटालिटी सेवा सुरु गरेको ग्रुपले १८ वर्षमा काठमाडौँ, चितवन, बुटवललगायत क्षेत्रमा १५ आउटलेट विस्तार गरेको छ । स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना भन्ने अवधारणाका साथ लगानी विस्तार गरी स्तरीय सेवा दिने कम्पनीले उल्लेख गरेको छ । 

गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटाले नेपालको पर्यटनमा नयाँ स्वादसहित भिन्न ढङ्गले आउटलेट सुरु गरेको र यसले उच्च विन्दुमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा पर्यटकलाई आतिथ्य सेवा दिन मद्दत पुग्ने बताउनुभयो ।

तीन वर्षभित्र १० मझौला र तारेहोटल खोलिने जनाइएको छ । लुम्बिनी, चितवन हँुदै गन्तव्यमा जाने लक्ष्य छ । त्यसका लागि गैरआवासीय सङ्घले सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । करिब चार सय जनालाई रोजगारी दिइनुका साथै परम्परागत परिकार, मौलिक खानाका परिकार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।