असोज ६, २०८१ आइतबार

जेरुसेलम, ६ असोज: लेबनानबाट उत्तरी इजरायलतर्फ लेबनानी हिजबुल्लाह समूहले रकेटमार्फत् आक्रमण गरेपछि आइतबार दुबैतर्फका लाखौं मानिसले शरण लिएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । 

गाजा पट्टीमा इजरायल र प्यालेस्टाइनी हमास लडाकूबीच युद्ध सुरु भएपछि सुरु भएको करिब एक वर्षको सीमापार गोलाबारीपछि इजरायलले इरान समर्थित हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने सङ्केत गरेको छ । 

सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल डानियल हागारीले शनिबार राति दक्षिणी लेबनानमा रहेको हिजबुल्लाहका लक्ष्यमा दर्जनौं इजरायली लडाकू विमानले व्यापक आक्रमण गरेको बताउनुभएको थियो ।

विश्लेषकहरूका अनुसार सहयोगी हमासको समर्थनमा काम गरिरहेको बताउने हिजबुल्लाहलाई यो साता गम्भीर धक्का लागेको छ । “इजरायली पक्षबाट भएका घातक आक्रमणहरूले हिजबुल्लाहको सञ्चारलाई लक्षित गरेको थियो र यसको कुलीन एकाइको नेतृत्वमा रहेका दुई नेताको मृत्युसमेत भएको विश्लेषकहरू बताएका छन् । 

इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा हिजबुल्लाहको विशिष्ट युनिटका प्रमुख इब्राहिम अकीलको मृत्यु भएको थियो उहाँको अन्त्येष्टि आइतबार बेरुतमा हुने अपेक्षा गरिएको छ ।

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्टले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “यो क्षेत्र आसन्न विपत्तिको सङ्घारमा रहेको अवस्थामा यसलाई अतिरञ्जित गर्न सकिंदैन।”

दक्षिण बेरुतस्थित हिजबुल्लाहको घना बस्ती रहेको क्षेत्रमा शुक्रबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार फेरि बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले आइतबार बिहान लेबनानबाट १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नादाव शोशानीले एएफपीसँग भन्नुभयो, “तनावका कारण उत्तरी इजरायलमा लाखौं मानिसहरूले आश्रयस्थलमा शरण लिनुपरेको छ।”

सेनाले हिजबुल्लाहको रकेट प्रहारको जवाफमा दक्षिणी लेबनानस्थित हिजबुल्लाहको प्रभावक्षेत्रमा आक्रमण गरेको र हिजबुल्लाहबाट  ‘ठूलो आकारको आक्रमण हुन नदिन’ यसो गरिएको शोशानीले बताउनुभयो । 

इजरायलको उद्धार सेवाले हाइफा शहर नजिकै कम्तीमा चार जना घाइते भएको जनाएको छ ।

रकेट प्रहारपछि इजरायलको नागरिक सुरक्षा निकायले देशको उत्तरी क्षेत्रका सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार सीमा नजिकै इजरायली आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाएको छ । हिजबुल्लाहले मङ्गलबार र बुधबार ३९ जनाको मृत्यु भएको र करिब तीन हजार घाइते भएको आक्रमणको बदलामा इजरायली सैन्य उत्पादन केन्द्र र हाइफा क्षेत्रमा रहेको हवाई अड्डालाई निशाना बनाएको जनाएको छ । इजरायलले सञ्चार उपकरण विस्फोट गराई हिजबुल्लाहविरूद्ध आक्रमण गरेको लेवनानी पक्षले दावी गरेको छ । 

पेजर र दुईतर्फी रेडियोको विस्फोटको प्रारम्भिक प्रतिक्रियामा हिजबुल्लाहले उत्तरी इजरायलमा रहेको राफेल सैन्य उद्योग परिसरमा ‘दर्जनौं’ रकेट प्रहार गरेको समूहले जनाएको छ । 

अमेरिकी विदेश मन्त्रालयले लेबनानमा रहेका अमेरिकीहरूलाई देश छोड्न आग्रह गरेको छ। जोर्डनले पनि आइतबार आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

शनिबार इजरायली सेनाले जारी गरेको वक्तव्यमा इजरायली विमानले दक्षिणी लेबनानबाट प्रहार गर्न तयार रहेका हजारौं रकेट लञ्चरमाथि प्रहार गरेको उल्लेख गरिएको छ भने हिजबुल्लाहले उत्तरी इजरायल र इजरायलले बस्ती विस्तार गरेको गोलान हाइट्समा रहेका कम्तीमा सात वटा सैन्य अखडालाई रकेटप्रहार गरेको जनाएको छ ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बेरूतको दक्षिणी उपनगरमा रहेको भूमिगत बैठक कक्षमा शुक्रबार भएको आक्रमणमा तीन बालबालिका र सात महिलाको मृत्यु भएको बताएका छन् ।

इजरायलले रादवान फोर्सका प्रमुख अकिल र अन्य केही कमाण्डरको हत्या भएको बताएको छ ।

कुलीन रदवान फोर्सले हिजबुल्लाहको जमीनी अभियानको नेतृत्व गरेको छ र इजरायललाई उसका लडाकुहरूलाई सीमाबाट पछाडि धकेल्न बारम्बार आग्रह गर्दै आएको छ।

हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले सञ्चार उपकरणमा भएको आक्रमण ‘अकल्पनीय’ प्रहार भएको स्वीकार गर्दै विस्फोटबारे कुनै टिप्पणी नगरेको इजरायलले प्रतिशोधको सामना गर्नुपर्ने बताएका छन् ।

लेबनानमा महिनौँसम्म दैनिक हुने आक्रमण र प्रत्याक्रमणका कारण सयौं लडाकू, इजरायल र कब्जा गरिएका गोलान हाइट्सका दर्जनौं व्यक्तिको मृत्यु भएको छ । यसपछि उक्त क्षेत्रमा दुवै पक्षका दशौं हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।