असोज ६, २०८१ आइतबार

खाँदबारी (सङ्खुवासभा), ६ असोज : सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का एक समाजसेवी परिवारले समुदायले सञ्चालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई रु ५० लाख सहयोग गरेको छ ।

    दिवङ्गत आमाबुबाका नाममा खाँदबारीका मनोज श्रेष्ठका पाँच दाजुभाइले आज एक कार्यक्रमबीच खाँदबारी आँखा उपचार केन्द्रलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । दाताहरुले यो रकम गरिब, असहाय, दलित र विपन्न वर्गको उपचारमा खर्च गर्नेगरी सहयोग गरेका हुन् । यसअघि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माण गर्न ६ रोपनी जग्गा निःशुल्क दान गरेको थियो । 

    नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई अक्षयकोषमा राख्ने र त्यहाँबाट आएको ब्याजबाट आर्थिक अभाव भएका आँखाका रोगीको उपचार गरिने बताउनुभयो ।

    सदरमुकाम खाँदबारीमा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब चार हजार आँखाका रोगी उपचारका लागि आउने गरेका छन् । यहाँ झण्डै चार सय जनाभन्दा बढीको वार्षिक रुपमा मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गर्ने गरिएको छ ।