असोज ८, २०८१ मंगलबार

काठमाडौँ, ८ असोजः दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई नगद रु एक लाख ८२ हजार प्रदान गर्नुभएको छ । 

    वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उहाँले अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा रोटरी क्लब अफ काठमाडौँ वेष्टका प्रेसिडेन्ट देशकुमार श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबापत सम्पादक श्रेष्ठले प्राप्त गर्नुभएको रु एक लाख र रोटरी क्लब अफ काठमाडौँ वेष्टले प्रदान गरेको रु ८२ हजार समावेश गरी पत्रकार दियालीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । 

    चेक हस्तान्तरण गर्दै सम्पादक श्रेष्ठले जीवनभर देश र जनताका लागि इमान्दीपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु अस्वस्थ हुँदा राज्यबाट उपेक्षित हुनु परेकामा चिन्ता व्यक्त गर्दै सहयोगको भावना जागृत गर्ने उद्देश्यले रोटरीसँगको समन्वयमा उक्त रकम प्रदान गरेको बताउनुभयो ।