असोज ८, २०८१ मंगलबार

काठमाडौँ, ८ असोज : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । उहाँले आज मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । 

    गत भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको थियो । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो । 

    “मैले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतमा हस्ताक्षर गरेको थिएँ । ती प्रतिबद्धताअनुसार कार्यसम्पादनमा बाधा–अड्चन नआउनेगरी, आयोजनाहरू समयमा सम्पन्न हुनेगरी कार्यसम्पादन सम्झौता अक्षरश पालना हुने विश्वास लिएको छु,” कार्यसम्पादन सम्झौतापछि सिंहले भन्नुभयो । उहाँले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्नेगरी अगाडि बढाउन पनि सम्झौताबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनाबद्ध सहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्नेगरी कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।