असोज ९, २०८१ बुधबार

म्याग्दी, ९ असोज : चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले  सेवा विस्तार गरेको छ ।

बागलुङस्थित नेपाल टेलिकमका प्रमुख  सन्तोष बरालका अनुसार  कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे । 

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो । 

एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।