असोज ९, २०८१ बुधबार

जुम्ला, ९ असोजः जिल्लाको सिंजा क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यले दातृ निकायको सहयोगमा पाँचवटा सामुदायिक विद्यालयको भवन निर्माण गरिएको छ । दातृ निकायको रु तीन करोड ५० लाख ३८६ सहयोगमा पाँचवटा विद्यालय भवन निर्माण गरिएको हो । 

    हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीवाडा र माथिकुडु गाउँको महादेव आधारभूत विद्यालयमा चारकोठे भवन, अपाङ्गमैत्री संरचना, पिउने पानी तथा हातधुने धारा निर्माण गरिएको दातृ निकाय पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिनुभयो ।

    सिंजा गाउँपालिकाको श्री माध्यमिक विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिकाको आधारभूत विद्यालय गोरुचौर र भैलापाटा आधारभूत विद्यालय लेखपुरमा चारकोठे विद्यालय भवन, अपाङ्गमैत्री संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

    स्थानीय तहको समन्वयमा प्लान नेपाल र पेस नेपालको साझेदारीका आधारमा विद्यालय भवन, शौचालय, पिउने पानी र हातधुने धारा निर्माण गरिएको न्यौपानेको भनाइ छ । “निर्माण गरिएका संरचना भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गता र बालमैत्री छन्”, उहाँले भन्नुभयो ।

    सबै भौतिक संरचना निर्माणपश्चात् कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा उद्घाटन भई असोज पहिलो साता सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिनुभयो । 

    प्लान नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले आवश्यकतामा आधारित रहेर गुणस्तरीय शिक्षाका क्षेत्रमा विगत ४५ वर्षदेखि काम गर्दै आएको बताउँदै सोही अनुसार सिंजामा विद्यालय निर्माणमा सहयोग गरिएको उल्लेख गर्नुभयो । 

    सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विस्तार गर्दै स्थानीय तह, विभिन्न दातृ निकायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताउनुभयो ।