असोज १०, २०८१ बिहिबार

काठमाडौँ, १० असोजः वर्तमान अवस्थामा वैदेशिक नीतिमा लैङ्गिक समानताको आवश्यकता बढ्दै गएको सरोकार भएकाले बताएका छन् । 

    कन्र्सोटिम अफ साउथ एसियन थिङ्क टयाङ्कको आयोजनामा काठमाडौँमा आजदेखि सुरु भएको ‘महिला र परराष्ट्र नीति’ विषयक सार्कस्तरीय क्षेत्रीय सम्मेलनका सहभागीले कुटनीतिमा महिलाको समान सहभागिता, सीमान्तकृत समुदायको प्रतिनिधित्व तथा समृद्धिका लागि महिलावादी परराष्ट्र नीतिको खाँचो औँल्याउनुभयो । 

    सहभागीहरुले विश्वमा समानता, न्याय, सद्भाव र शान्ति स्थापना गर्न लैङ्गिक समानतामूलक परराष्ट्र नीति आवश्यक भएको भन्दै त्यसका लागि आवश्यकताका आधारमा सकारात्मक विभेद्को नीतिसमेत अवलम्बन गर्न जरुरी रहेको बताउनुभयो ।

    लैङ्गिक न्याय स्थापना गर्न सकियो भने मात्रै परराष्ट्र नीति बलियो हुने उहाँहरुको धारणा थियो । महिलावादी परराष्ट्र नीतिले महिला अधिकार र स्रोतमा महिलाको पहुँचलाई सुनिश्चित गर्नेमा जोड दिइएको छ ।

    विश्व भू–राजनीतिमा नारीवादी परराष्ट्र नीतिको महत्व बढ्दै गएको भन्दै यसले द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न सहयोग पुग्ने, सहकार्य समानतामा जोड दिने तथा निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउने उहाँहरुको विश्वास छ । सो क्रममा सहभागी तथा अतिथिले आआफ्नो देशको महिला सहभागिता र सरकारले लिएको नीतिका बारेमा पनि धारणा राख्नुभएको थियो । 

    सम्मेलन उद्घाटनका क्रममा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले निर्णय प्रक्रिया र शान्ति स्थापनाका लागि महिलाको सहभागिता महत्वपूर्ण हुने बताउनुभउो । उहाँले विदेशी नीतिमा लैङ्गिक सहभागिता स्थापित गर्न र कूटनीति विकासमा महिलाको प्रतिनिधित्व प्रवर्द्धन गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले महिलाहरुको सहभागिता बढेमा विश्वमा उनीहरु संलग्नता र वार्तालापमा बढी जोड दिने हुँदा शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

    संयुक्त राष्ट्र सङ्घ जेनेभाका लागि पूर्वनेपाली स्थायी प्रतिनिधि डा शम्भुराम सिंखडा, माल्दिभ्सका पूर्वउपसभामुख ईवा अब्दुल्ला, एसियाली राजनीतिक सम्वाद कार्यक्रम सिङ्गापुरका निर्देशन एड्रियास क्लेइनले संयुक्त राष्ट्र सङ्घलगायत सङ्घस्सथहरुमा महिला सभागिता बढाउनुपर्नेमा जोड दिनुभएको थियो । 
 
    कार्यक्रमका संयोजक निश्चल पाण्डेले हालै परराष्ट्रमन्त्री डा आरजु राणा क्यानडामा भएको महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा सहभागी हुनुभएको र त्यहाँ गहन रुपमा यससम्बन्धी विषयले स्थान पाएको जानकारी दिँदै महिला र परराष्ट्र नीतिको विषय अहिले विश्व्यापी महत्वपूर्ण मुद्दाको रुपमा आएको बताउनुभयो । त्यसैले पनि यो क्षेत्रीय कार्यक्रम आयोजना गरिएको भन्दै उहाँले परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध, अन्तरराष्ट्रिय सुरक्षालगायत क्षेत्रमा महिला सहभागी हुन जरुरी रहेको औँल्याउनुभयो ।

    संयोजक पाण्डेले महत्वपूर्ण निकायमा महिलाहरुको सहभागिताले महिलाका मुद्दालाई फरक ढङ्गले सम्बोधन गरी कार्यान्वयनमा लैजान सक्ने बताउनुभयो । दुई दिने उक्त कार्यक्रममा सार्कको अफगानिस्तान बाहेक विभिन्न देशका विषय विज्ञ तथा प्रतिनिधिको सहभागिता छ ।
 
    उक्त कार्यक्रमको विभिन्न सत्रमा वैदेशिक नीतिमा लैङ्गिक समानताको महत्व, कुटनीति र विभिन्न क्षेत्रमा महिलाको सहभागिता, दक्षिण एसियाली विदेश नीति र शान्ति स्थापनामा महिलाको भूमिकासम्बन्धी बुझाइ, परराष्ट्र नीतिमा महिलाका लागि वर्तमान चुनौती र अवसर लगायतका विषयमाथि छलफल गरी निष्कर्ष निकालिने छ ।