असोज ११, २०८१ शुक्रबार

वीरगञ्ज(पर्सा), ११ असोजः औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५आँैं अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगञ्जको शङ्कराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् । 

    होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका  अध्यक्ष  हरि पन्तले ४५औँं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा वीरगञ्जको शङ्कराचार्य गेटमा एक  विशेष कार्यक्रम गरेर भारतीय पर्यटकलाई भव्य स्वागत गरिएको बताउनुभयो । ‘‘वीरगञ्ज औँद्योगिक र व्यापारिक नगरीको साथसाथै धार्मिक पर्यटनको उच्च सम्भावना भए पनि पर्यटन क्षेत्रले आशातित् विकास हुने अवसर पाएको छैन,’’ उहाँले भन्नुभयो,‘‘वीरगञ्जमा चारवटा तारेहोटसहित ८५ भन्दा धेरै होटल रहेका छन् । तर,वीरगञ्जमा अपेक्षाकृत ढङ्गले पर्यटकको बसाइ बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’’ 

    वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्ज भन्सार नाका हुँदै भारतीय पर्यटकहरु पशुपतिनाथ, जनकपुर, गढिमाई र मुक्तिनाथ लगायतका धार्मिकस्थलमा जाने गरेका छन् । 

    ‘‘हामीले वीरगञ्जको पर्यटन क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धनका लागि विभिन्न पर्यटकीय गतिविधि गर्दै आइरहेका छौैँ’’ उहाँले भन्नुभयो,‘‘सरकारले पनि आवश्यक पर्यटकीय क्षेत्रको प्रवद्र्धनात्मक कार्यक्रममा सहयोग गर्न आवश्यक भइसकेको छ ।’’ अध्यक्ष पन्तले वीरगञ्जमा औद्योगिक तथा व्यापारिक सहरको साथसाथै पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार वीरगञ्जमा पछिल्लो समय सुविधा सम्पन तारे होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन् ।

    वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, लगायतका छन् । वीरगञ्जको पर्यटन क्षेत्र आन्तरीक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।