असोज ११, २०८१ शुक्रबार

गण्डकी, ११ असोजः ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् ।

    पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
    
    आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा पर्यटन परिषद्को समन्वयमा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो ।
    
    ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्द्धन गर्ने उद्देश्यले मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिञ्जे नासालाई छनोट गरेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।

    रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि बस्ती शून्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिञ्जे नासामा घरबास कार्यक्रम सुरु गरिएको रिञ्जे नासा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले बताउनुभयो । उहाँका अनुसार विगतमा मानिसले भरिभराउ हुने गरेका २६/२७ घरमध्ये अहिले नौ/दश घरमा मात्रै बसोबास छ । 

    तीन दशकअघिसम्म गाउँमा राम्रो चहलपहल रहेकामा पछिल्लो समय एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिँदै गएपछि स्थानीयले घरबास सुरु गरेका गुरुङले बताउनुभयो । “सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि विसं २०७६ देखि रिञ्जे नासा होमस्टे सञ्चालनमा ल्याइएको हो”, उहाँले भन्नुभयो, “सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ ।”
    
    धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय रुपमा यसको प्रवर्द्धन तथा विकास गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको गुरुङले बताउनुभयो । 

    पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ । गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन् । गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुगिसकेपछि देखिने माछापुच्छ«े, धौलागिरि, अन्नपूर्णलगायत हिमालीका दृश्य देख्न पाइन्छ ।
    
    गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट लाग्दछ । त्यस्तै नागी डाँडा पुग्न तीन घण्टा लाग्दछ । यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गर्दछन् । गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएको छन् । 

    साथै प्रत्येक वर्षको माघेसङक्रान्तिमा यहाँ मेला लाग्ने स्थानीयवासी बताउँछन् । नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउनुुलाई धार्मिक महत्वका साथ हेर्ने गरिएको छ ।

    मन्दिरको नजिकै रहेको सुन्दर झरना, भिरमौरी, कलकल बग्ने खोलासँगै चराचुरुङ्गीको चिरविराहट यहाँका पर्यटकीय आकर्षण हुन् । पोखराको पृथ्वीचोकबाट महेन्द्रपुल, बगर, केआइसिंह पुल हुँदै महेन्द्रगुफाबाट जोगिमणि घट्टेकुना पुग्न सकिन्छ । त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रिञ्जे नासा पुगिन्छ ।
    
    घरबास कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएकाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार भएका सबै लाग्नुुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समिति उपाध्यक्ष रविन्द्रराज पौडेल, पोखरा महानगरपालिका सहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रञ्जन कार्की, पश्चिमाञ्चल होटल सङ्घका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाटलगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिनुभएको थियो ।