साउन १५, २०७८ शुक्रबार

नेपाल–भारत सीमा भएर बग्ने दार्चुलाको उत्तरी महाकाली तटीय क्षेत्र आसपासका स्थानीयले जिल्ला सदरमुकाम खलङ्गा जान वर्षायाममा नेपाली भूमिमा ठाउँठाउँमा सडक भत्किएका कारण भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता छ ।

जिल्लाको व्यास गाउँपालिका-२ राप्लाबाट जिल्ला सदरमुकाम खलङ्गा जान पनि त्यस्तै बाध्यता छ । दैनिक उपभोग्य सामान नुन-तेल किन्नेदेखि औषधोपचार, मालपोतमा कर तिर्न, नागरिकता बनाउन, जेष्ठ नागरिकहरूले वृद्धभत्ता ल्याउन यो बाटो हुँदै सदरमुकाम आउनुपर्छ । नदीपारि गएपछि भारतीय मोटरबाटो हुँदै सहजै खलङ्गा पुग्न सकिने भएकाले स्थानीयहरू तुइनबाट महाकाली तर्छन् । नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने 'मालघाटमा' यो रज्जुमार्ग पुस्तौंदेखि छ ।

शुक्रबार बिहान काम विशेषले भारतीय बाटो हुँदै सदरमुकाम गइरहेका त्यहाँका नेपाली युवक जयसिंह धामी नदीमा तुइन तानेर पारि पुग्नै लागेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवान हतियारसहित पुगे र उनीहरूले तुइन काटिदिए ; जयसिंह नदीमा खसेर बेपत्ता भए । वारिबाट कतिपयले एसएसबीलाई 'तार नखोल्नू' भनेर सलाम गरे, इसारा गरे तर एसएसबीले मानेनन् । जयसिंह महाकालीको छेउबाट बगेको केहीले देखे पनि ! तर उनी नदीमै डुबे । नेपाल र भारतका नागरिकलाई एक देशबाट अर्को देशमा आउजाउ गर्न कुनै समस्या छैन । उनीहरू सहजै यताउता गर्न सक्दछन् । तर नदी तर्दै गर्दा बीचमै तुइन काटेर अर्को देशकाे नागरिकलाई खोलामा बेपत्ता बनाउनु र गोली हानेर दोस्रो देशको नागरिकको ज्यान लिनुमा के फरक भयो ? यसको जवाफ नेपाल सरकारले भारतसँग मागोस् ! पाँचपाँच पटक प्रधानमन्त्री भइसकेका हालका देशका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह प्रदेशमा तुइन चुँडाइदिने गरेका घटना बेलाबेलामा हुने गरेको भए पनि किन ध्यान दिन सकेनन् ? उनले आफ्ना भारतीय समकक्षीसँग यस विषयमा ध्यानाकर्षण गराउनुपर्छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलाबेला तुइन काटेर यस्तो अमानवीय काम गर्दै आइरहेको छ । जिल्लाको पिपलचौरी, हुती, धौलाकोट, सुन्सेरा, राप्ला र व्यासका स्थानीयले सदरमुकाम आउजाउ गर्न तुइनकै सहारा लिन्छन्  । यस्तो सकसमा स्थानीयहरू बाँचिरहे पनि सरकारले वास्ता नै गरेकाे छैन । सायद, सरकारलाई यस ठाउँमा आफ्ना नागरिक बस्छन् भन्ने जानकारी छ कि छैन ? झोलुङ्गे पुलको आश्वासन दिएको दुई दशक नाघे पनि त्यो चुनावी नाराभन्दा अघि बढेको छैन । हुन त, पञ्चायतकालदेखि नै धौलाकोटको तिग्रम र लालिमामा झोलुङ्गे पुल हाल्ने कुरा सुनिन्थ्यो तर अहिलेसम्म कुनै सुरसार छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई २ वर्षभित्र तुइनमुक्त बनाउने भनेका थिए । तर उनी पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् ; समस्या उस्तै छ । झन् भारतीय पक्षको ज्यादती बढेको छ । यही क्षेत्र हो- भारतले मिचेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नजिकको । यसरी भारतीय पक्षको दादागिरीका कारण कति नेपालीले ज्यान गुमाउने ? सीमानामा बेलाबेलामा यस्तो अवस्था फेरि पनि नआओस् !