असोज १४, २०८१ सोमबार

काठमाडौँ, १४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अविरल वर्षाबाट प्रभावितलाई उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना  स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर  काम गर्न  नेता कार्यकर्ता सबैलाई विशेष अपिल गर्नुभएको छ ।  अध्यक्ष नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरि सम्पर्कविहीन भएका र घाइते भएका जनाउँदै प्राकृतिक विपदबाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा  पार्टीलाई मर्माहत तुल्याएको उल्लेख गर्नुभएको छ । 

विज्ञप्तिमा उहाँले बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घी सरकारसंग आग्रह समेत गर्नुभएको छ । विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकमा  श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । बाढीपहिरो र डुबान प्रभावितका नागरिकहरूको उद्धार तथा बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था मिलाउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन, अवरुद्ध सडकको तत्काल मर्मतसम्भार गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ ।  उहाँले विज्ञप्तिमार्फत सम्भावनालाई जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गर्नुभएको छ ।