काँक्रेविहार (सुर्खेत), २६ असोजः डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरिए पनि त्रिपुराकोटमा भने परापूर्वकालदेखि आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ ।
प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बाला त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घरघरमा टीका जमरा लगाउन सुरु गर्ने उक्त मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले बताउनुभयो । “मुलुकभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन ल्याउने गर्छन्”, पुजारी पाण्डेले भन्नुभयो, “दसैँको औँसीको दिनदेखि दशमीको दिनसम्म नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एकअर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा टीका लगाउन सुरु गर्ने प्रचलन छ ।”
ज्योतिषका अनुसार आज बिहान ११ बजेर ३६ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा बेलुकाको नित्यपूजापाठ पूजा सकिएपछि मात्र टीकाको साइत खुला हुने गर्दछ ।