साउन १७, २०७८ आइतबार

फाइल तस्बिर

कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ ।

कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन कम्तीमा पनि ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् । अधिकांश नेपाली भारतको पञ्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाडका शहरमा कामका लागि जान थालेको बताउने गरेको त्रिनगर प्रहरी प्रमुख रमेश शाहीले बताउनुभयो ।

हरेक वर्ष धान रोपाइँ सकेपछि हजारौँ सुदूरपश्चिमेली युवा काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्परा रहेकाले यस वर्ष पनि कामकै लागि अर्थात् दशैँ खर्च जुटाउन भारत पस्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ गैराका मदनबहादुर बामीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने परम्परा छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले हिजोआज कामका लागि भारत जाने नेपालीको सङ्ख्या एकाएक बढेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालीहरूको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरिएको छ ।

यसै सिलसिलामा डोटीबाट पनि दैनिक दर्जनौँ युवा कामका लागि जिल्ला छाड्न थालेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अर्थावस्था कमजोर रहेका यस क्षेत्रका युवा रोपाइँ सकिएपछि वर्सेनि भारतका विभिन्न शहरमा मजदुरीका लागि जाने गरेको केआइसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले बताउनुभयो ।

घरपरिवारको अर्थावस्था कमजोर भएको र विद्यालयमा समेत पढाइ बन्द भएकाले भारतमा काम गर्न जानुपरेको डोटीबाट आफन्तको साथमा भारत हिँडेका जिल्लाको सायल गाउँपालिकाका युवा करन रोकायाले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “स्कूल सबै बन्द छन्, घरमा खानलाउन समस्या छ, खाली बस्नुभन्दा अलिकति भए पनि कमाइ हुन्छ भनेर भारत जाँदै छु, दशैँमा कमाएर आउँछु ।”

उनीजस्तै पछिल्लो समय जिल्लाबाट काम खोज्नका लागि सयौँ युवा तथा बालबालिका आफ्नो पढाइ छाडेर काम खोज्न भारत जान थालेका छन् । नेपालमा बालबालिकालाई काम गर्न नदिइने तथा भारतमा बालबालिकाका लागि सहजै काम पाइने भएकाले आफूहरू घर छाडेर भारत जाने गरेको बालबालिका बताउँछन् । जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने एक दर्जन जति सङ्घसंस्था भए पनि अहिले कामका लागि भारत जान थालेका बालबालिकालाई रोक्न कसैले पहल गरेका छैनन् । आमाबुबा साथमै हुने गरेका कारण बालबालिकालाई भारत जानबाट रोक्न नसकिएको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ ।