असोज २८, २०८१ सोमबार

लक्जेमबर्ग, २८ असोज: युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गर्नुभएको छ । 

    “इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।”

    हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । 

    इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ । 

    “धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्”, बोरेलले भन्नुभयो, “उनीहरूको काम धेरै महत्त्वपूर्ण छ ।”

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गर्नुभयो । 

युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ ।