काठमाडौँ, ४ कात्तिकः स्वयम्भूस्थित आनन्दकुटी विहारमा चिवर दान गरिएको छ । भिक्षुहरुले पालना गर्नुपर्ने नियमअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षाबास बसेका भिक्षुलाई उपासक/उपासिका तथा दाताबाट नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर उत्सव सम्पन्न गरिएको हो ।
विहारभित्र तीन महिनासम्म वर्षाबास पूरा गरेका भिक्षुको सम्मानमा यस्तो उत्सव गरिएको हो । बुद्धसम्बन्धी ज्ञानबद्र्धक भक्तजन पञ्चशीलसहित धार्मिक गतिविधिसमेत गरिएको छ ।
भिक्षुहरुले वर्षायामको समयमा यात्रा नगर्ने, विहारभित्र बौद्ध शिक्षा प्रवर्द्धन गरी धार्मिक गतिविधि गर्ने प्रचलन रहेको विहारका उपप्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिनुभयो । यो कार्य सम्पादन गर्दा भिक्षुलाई सामान्य अवस्थाभन्दा केही कठिनाइ हुने उहाँले बताउनुभयो ।
विभिन्न अष्ट परिकार दान र उपासक/उपासिकाबाट व्यक्तिगत आर्थिक दान प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, बौद्ध महिला र युवा सङ्घसंस्थाका प्रतिनिधिसहित सरोकार भएकाहरुको सहभागिता थियो ।
विहारका उपप्रमुख धर्ममूर्तिले बुद्धका शिक्षा तथा उपदेशहरुको पालनाका क्रममा यस्ता धार्मिक गतिविधि गरिएको जनाउँदै यस्ता कार्यले समुदायलाई सत्मार्गमा जोड्ने बताउनुभयो । उहाँले आफ्नो विहारले मानव कल्याण तथा विश्व शान्तिका लागि बुद्ध शिक्षा र बुद्धका उपदेशको अभ्यास र प्रवर्द्धन गर्दै आएको जानकारी दिनुभयो ।