कात्तिक ४, २०८१ आइतबार

पाटन (ललितपुर), ४ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताउनुभएको छ । 

    नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २  समितिले बाढीपहिरोले पु¥याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उहाँले तीन वटै तहले दिने राहतका लागि कार्यविधि बनाएर काम गर्ने बताउनुभयो ।

    “राहतका लागि पालिकाहरुलाई तत्कालै रु २० लाख र रु १५ लाख उपलब्ध गराइएको छ, मृत्युु भएका परिवारलाई रु एक लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “राहत तथा उद्धारका लागि १३ जिल्लाका लागि रु पाँच लाखका दरले जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको छ ।” 

    उहाँले प्रमाणीकरण भएपछि मृत्यु भएका बागमती प्रदेशभित्रका स्थायी बासिन्दा परिवारलाई थप रु एक लाख उपलब्ध गराउने समेत जानकारी दिनुभयो । 

    मुख्यमन्त्री लामाले सबै जिल्लाबाट भौतिक र मानवीय क्षतिको विवरण प्राप्त भएपछि तथ्याङ्कअनुसार आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । 

    त्यस अवसरमा ललितपुर क्षेत्र नं २ को ‘२’ प्रदेशसभा सदस्य एवं संविधानसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साललगायत नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

    नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खड्काले १० वटै वडा र ललितपुर महानगरको ७, ८, ९ र १७ अत्यन्तै प्रभावित भएको अवगत गराउँदै महालक्ष्मी नगरपालिकालाई बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार विपद्ग्रस्त पालिका घोषणा गर्न छुट हुन गएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

    “यस क्षेत्रमा पर्ने कर्मनासा खोला, हनुमन्ते खोला, दुग्रेखोला र गोदावरी खोलाको आसपासका बस्तीहरु जलमग्न भई सबै घरहरुको एकतला पूरै डुबानमा परेको थियो”, उहाँले भन्नुभयो, “यहाँका खेती भइरहेका धानखेत, तरकारीबाली तथा खोलाको आसपासमा रहेका गाईगोठ, पशुचौपाया, कुखुरा फर्म समेतमा गरी करोडौँ रकम बराबरको क्षति भएको छ ।”

    उहाँले यस विपत्तिबाट भएको समस्याको दीर्घकालीन समाधानका लागि खोला क्षेत्रको व्यवस्थापन, नदी नियन्त्रण एवं खोलाका किनारामा पनि सडक सञ्चालन गर्न  अतिआवश्यक भएको बताउनुभयो ।

    उहाँले नगरपालिकाको वडा नं २ को भोपोखरीको बोरिङ, १ र ४ को मोरेपाटी खानेपानीको मुहान गोदावरी नगरपालिका– १ को गोदामचौर मुहान पूर्ण रुपमा ध्वस्त भई हजारौँ परिवार खानेपानीबाट प्रभावित भएको जानकारी गराउनुभयो ।

    बाढी, पहिरोबाट महालक्ष्मी नगरपालिका-८, ९ र १० प्रभावित भई सात जनाको निधन भएको थियो । यी तीन वडाको करिब १० घर पूर्ण रुपले क्षति भई तत्कालै अस्थायी बासस्थान उपलब्ध गराउनुपर्ने नेपाली कांग्रेसको माग छ ।