कात्तिक ६, २०८१ मंगलबार

खोटाङ, ६ कात्तिकः प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो) ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल क्लब दिक्तेललाई ३–० हराउँदै आयोजक निलोले उपाधि जितेको हो ।

    खेलको पहिलो हाफको नवौँ मिनेटमा सोल्मा निलोका खेलाडी प्रविण तामाङले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफको २०औँ मिनेटमा सोल्मा निलोका गोलरक्षक पास्कल बस्नेतले पोष्टबाट हानेको बल गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो । 

    दोस्रो हाफको ३३औँ मिनेटमा सोल्मा निलोका खेलाडी तिलक कार्कीले तेस्रो गोल गरेपछि जीत सुनिश्चित भएको हो । उपाधि विजेता आयोजकले रु २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

    प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारसमेत वितरण गरिएको थियो । विभिन्न विधागत उपाधिअन्तर्गत सोल्मा निलोका खेलाडी तिलक कार्कीले बेष्ट प्लेयर, हाइ स्कोरमा प्रविण तामाङ, बेष्ट किपरमा पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा दिलीप राई, बेष्ट मिडफिल्डरमा आशिष राई र बेष्ट कोचमा सनम राई घोषित भएका आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । 

    उनीहरूमध्ये बेष्ट प्लेयर कार्कीले नगद रु दुई हजार दुई सय २२, ट्रफी र प्रमाणपत्र तथा अन्य विद्याग पुरस्कार विजेताहरूले जनही नगद रु एक हजार एक सय ११ को साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चाडबाडका बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै कुलतबाट जोगाउन फुटबल प्रतियोगिता आयोजना क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताउनुभयो । 

    विजयी समूह तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले पुरस्कार वितरण गर्नुभएको थियो । यही कात्तिक २ गतेदेखि सुरु भएको प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठ वटा क्लबका खेलाडी सहभागी भएका थिए ।