कात्तिक ७, २०८१ बुधबार

कञ्चनपुर, ७ कात्तिकः शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गर्नुभएको हो ।

शारीरिक अपाङ्गता भएका हिँडडुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई मन्त्री थापाले ह्वीलचियर वितरण गर्नुभएको पार्टीका प्रदेशसभा (२) कार्यसमितिका सभापति करनसिंह ऐरले बताउनुभयो । ह्वीलचियर रुडुक नेपालका केन्द्रीय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
 
प्रदेशका तर्फबाट पनि अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध गराउने कार्यसँगै स्वरोजगारसँग जोड्न विशेष कार्यक्रम सञ्चलन गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गर्नुभयो ।