कात्तिक ७, २०८१ बुधबार

बेलबारी (मोरङ), ७ कात्तिक : भारतको पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहलेस फुटबल क्लबले कात्तिक ९ गते हुने चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सहलेश फुटबल क्लबका अजयी मार्टिनले खेल सुरु भएको चौथो मिनेटमै गोल गरे । समीर तामाङले दिएको पासलाई मार्टिनले गोलमा बदले । लगतै ८ औँ मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गरे । अण्डर ट्वान्टीको राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६औँ मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानमा उत्कृष्ट गोल गर्न सफल भए ।

दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा १ गोल फर्कायो । दलसिंहपाराका लागि रोहन थापाले गोल गरे । मध्यान्तर अघि ३–१ गोलको अग्रता बनाएको सलहेसविरुद्ध भारतीय टिमले ४६औँ मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटाएको थियो । दलसिंहपाराका लागि दोस्रो गोल रोहन थापाले गर्नुभयो । दुई गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तरपछि थप गोल गर्न नसक्दा हार बेहार्नुपरेको थियो ।

आजको खेलमा सलहेस फुटबल क्लबका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरे । बिहीबार पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।