विराटनगर, ८ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उहाँको भनाइ थियो । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।
दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उहाँले स्पष्ट पार्नुभयो । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उहाँको धारणा थियो ।