कात्तिक ८, २०८१ बिहिबार

गण्डकी, ८ कात्तिकः नेपाल जेसिजको आयोजनामा कास्कीस्थित सात तालको बाटिका सहर लेखनाथमा भोलिदेखि १३औँ राष्ट्रिय जुनियर जेसिस सम्मेलन हुने भएको छ ।

    यही कात्तिक ९, १० र ११ गतेसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट तीनसय जना जुनियर जेसिज सहभागी हुने कार्यक्रम निर्देशक शिवानी केसीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनुभयो ।

    लेखनाथ जेसिजको संरक्षकत्व एवं लेखनाथ जुनियर जेसिजको आत्थियतामा हुन लागेको सम्मेलनले सात तालको बाटिका सहरका रुपमा चर्चा कमाएकाले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको लेखनाथ जुनियर जेसिजका अध्यक्ष प्राञ्जल पौडेलले बताउनुभयो । 

    सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा छलफल, बहस हुनुका साथै तालिम सञ्चालन हुने जानकारी दिँदै उहाँले सहभागीलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलसहित लेखनाथ क्षेत्रका सातवटै तालको अवलोकन गराइने बताउनुभयो ।

    पत्रकार सम्मेलनमा राष्ट्रिय जुनियर जेसिजका संयोजक आरएन पौडेल, लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राजभाटले सम्मेलनका विधि र प्रक्रियालगायत विषयमा जानकारी गराउनुभएको थियो ।