कात्तिक १०, २०८१ शनिबार

राँझा (बाँके), १० कात्तिक : कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले जानकारी दिनुभयो । 
 
“कृषि विकास कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई प्रस्ताव पेस गर्न सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “कार्यक्रममा सहभागी हुन योग्य किसानको व्यावसायिक योजनाका आधारमा प्रस्तावहरु स्वीकृत गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ ।”

कृषि ज्ञान केन्द्र बाँकेले चालु आवमा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम, वैजनाथ गाउँपालिकामा च्याउ प्रवर्द्धन र कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकामा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

यसबाहेक वर्षे÷हिउँदे फलफूल बिरुवा वितरण र बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा  सहयोग कार्यक्रम जिल्ला भरका किसानसँग सञ्चालन गर्ने योजना रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले कृषि ज्ञान केन्द्रले सञ्चालन गर्ने व्यावसायिक तरकारी प्रवर्द्धन र च्याउन प्रवर्द्धन कार्यक्रमबाट प्रत्यक्षरुपमा किसान लाभान्वित हुने भएकाले धेरैभन्दा धेरै किसानलाई सहभागी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उहाँले किसानसँग आवश्यक समन्वयको लागि आफूहरु सदैव तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।