कात्तिक १०, २०८१ शनिबार

बागमती, १० कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक सङ्घसंस्थासँग हातेमालो गरेर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । 

‘जेसीज सप्ताह–२०२४’ को समापनका अवसरमा हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले विकासमा सामाजिक सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण रहेकाले प्रदेश सरकार सामाजिक सङ्घसंस्थालाई साथमा लिएर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । 

युवाहरू जेसीजमार्फत एकताबद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकाससमेत गर्दै सामाजिक सेवामा लागेकोप्रति खुसी व्यक्त गर्नुहुँदै मुख्यमन्त्री लामाले जेसीजको कर्मबाट सिङ्गो समाजले प्रेरणा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । जेसीजले समाजमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै उहाँले जेसीजका नेतृत्व अझै क्रियाशिल भएर सामाजिक क्षेत्रमा लाग्नु आवश्यक रहेको बताउनुभयो । 

हेटौँडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई मुख्यमन्त्री लामाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

हेटौँडा जेसीजद्वारा यही कात्तिक ६ गतेदेखि ९ गतेसम्म आयोजित ‘जेसीज सप्ताह २०२४’ अन्तर्गत साइकल रेस, स्लो मोटरसाइकल रेस, रक्तदान,  लागुऔषध दुव्र्यसनि न्यूनीकरणसम्बन्धि अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरेको थियो ।