कात्तिक ११, २०८१ आइतबार

काठमाडौँ, ११ कात्तिकः देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अरिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ र आधुनिक विज्ञान दोस्रो महासम्मेलन आयोजना हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले यही कात्तिक २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा महायज्ञ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

    महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलहरुमार्फत प्रतिदिन भइरहेको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूलसमितिले जनाएको छ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट हुने पहिलो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भएको आयोजकको दाबी छ ।

    पत्रकार सम्मेलनमा पूर्वगृहराज्यमन्त्री एवम् महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रुपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

    फाउन्डेसनले विगत १२ वर्षदेखि महायज्ञ गर्दै आइरहेको छ । यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरुको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बास्कोटाले बताउनुभयो । उहाँले महायज्ञ आफ्नो परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य छ भन्नुभयो ।  

    यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान १०ः३० देखि भद्रकाली, सहिहदगेट रत्नपार्क हुँदै शोभायात्रा हुनेछ ।

    विज्ञान महासम्मेलन हुने

    महायज्ञकै दौरानमा कात्तिक २२ देखि २४ गतेसम्म तीन दिन वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन गरिनेछ । युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

    यसैगरी, कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिनेछ । अग्र्यानिक एसोसिएसन नेपाल र कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अग्र्यानिक तथा प्राकृतिक उत्पादनहरुका स्टल रहनेछन् ।

    मेलाका संयोजक शान्ता बास्कोटा कोइरालाले नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्‍याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेला सञ्चालनका लागि महर्षि वैदिक फाउन्डेसनको सहयोग रहेको छ ।