कात्तिक ११, २०८१ आइतबार

    टिबिलिसी, ११ कात्तिक: अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले आइतबार जर्जियाको संसदीय चुनावमा मतदातामाथि दबाब र ‘असमान खेल मैदान’ रहेको बताएका छन् । सत्तारूढ दलले प्रभावशाली जीत घोषणा गरेपछि उनीहरूको यस्तो टिप्पणी आएको हो ।     
     
 आधिकारिक नतिजाले वर्तमान जर्जियन ड्रिम पार्टी बहुमत सिट जित्ने मार्गमा रहेको देखाएको छ । यसलाई विपक्षी समूहहरूले ‘धाँधलीपूर्ण’ भन्दै आलोचना गरेका छन् ।     
     
 ब्रसेल्सले ककेसस मुलुक जर्जियामा लोकतन्त्रको महत्त्वपूर्ण परीक्षणको रूपमा हेरिएको शनिबारको मतदानले युरोपेली सङ्घ (इयु) उम्मेदवार टिबिलिसीको इयुमा सामेल हुने सम्भावना तय गर्ने चेतावनी दिएको थियो ।     
     
 युरोपेली सुरक्षा तथा सहयोग सङगठन, युरोप परिषद्, युरोपेली संसद् र नाटोको संयुक्त पर्यवेक्षण मिसनले मतदान ‘असमान खेल मैदान, दबाब र तनावले’ कलङ्कित भएको एक विज्ञप्तिमा बताएको थियो ।     
     
 पर्यवेक्षकहरूले मतदानको दिन सामान्यतया राम्रोसँग व्यवस्थित भए पनि यो ‘तनावपूर्ण वातावरणले’ भरिएको भएको बताए । “असमान खेल मैदानले... नतिजाप्रतिको विश्वासलाई कमजोर बनाउँछ”, पर्यवेक्षकहरूले विज्ञप्तिमा भनेका छन्, “मतदाताहरूलाई दिइएको व्यापक विकल्प चुनावलाई अन्तर्राष्ट्रिय लोकतान्त्रिक सिद्धान्तहरू अनुरूप बनाउन पर्याप्त छैन ।”     
     
 विपक्षी दलहरूले मतदानका क्रममा मतपेटिका भर्ने र धम्की दिने घटनाहरू भएको आरोप लगाउँदै नतिजाहरूलाई ‘धाँधलीपूर्ण’ भनेका छन् ।     
     
 चुनावको नतिजाले राजनीतिक टकरावको मञ्च तयार गरेको विश्लेषकहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार नतिजाले जर्जियाको युरोपेली आकांक्षाहरूलाई लिकबाट उतार्न सक्छ ।     
     
 सन् २०१२ देखि सत्तामा रहेको जर्जियन ड्रिमले सुरुमा उदार पश्चिम–समर्थक नीति एजेन्डा अपनाएको थियो तर पछिल्लो दुई वर्षमा यसले आफ्नो दिशा परिवर्तन गरेको छ ।     
     
 जर्जिया यस वर्षको सुरुमा व्यापक विरोध प्रदर्शनको चपेटामा परेको थियो । विपक्षीले सरकारले लोकतान्त्रिक स्वतन्त्रताहरू कम गर्न र ४० लाख जनसङ्ख्या भएको मुलुकलाई पश्चिम–समर्थक मार्गबाट हटाएर रुसको कक्षमा धकेल्ने प्रयास गरेको आरोप लगाएको थियो ।     
–––