कात्तिक ११, २०८१ आइतबार

काठमाडौँ, ११ कात्तिक : नेपाल कला परिषद्ले उच्चस्तरका विशिष्ट पाहुनाको निमित्त उपयुक्त कोशेलीको कमी देखिएको भन्दै त्यसको माग पुरा गर्ने उद्देश्यले ‘रिल्म अफ द डेइटिज’ पुस्तक प्रकाशन गरेको छ ।     
     
 परिषद् र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा पुस्तकको संरचना र प्रकाशन गरिएको परिषद्का अध्यक्ष सागर शम्शेर जबराले राससलाई जानकारी दिनुभयो । उहाँले पुस्तक नेपाल सरकारका प्रतिनिधिले उच्चस्तरका विशिष्ट विदेशी पाहुनालाई उपहार दिन कोशेलीको रुपमा उपयोगी हुने अपेक्षा गर्नुभयो ।     
     
 पुस्तकमा नेपालको समृद्ध कला–कौशल र संस्कृतिको व्याख्या तथा बर्णनसहितको अन्तर्राष्ट्रियस्तरका चित्र र प्रस्तुती रहेको अध्यक्ष राणाले बताउनुभयो । यसैगरी उच्च श्रेणीका स्वदेशी कलाकारको परिचय, पुस्तकभित्र चित्रित आकर्षक कलाकृतिको माध्यमबाट सांस्कृतिक पर्यटनको अभिवृद्धि र विकास पुस्तक प्रकाशनको लक्ष्य रहेको छ ।     
     
 अध्यक्ष राणाले यस्ता क्रियाकलापले भविष्यमा कला क्षेत्रको वृद्धि विकासमा सक्रियताका साथै विशेष महत्व रहने उल्लेख गर्नुभयो । पुस्तक एक सय ५१ प्रतिष्ठित कलाकारका एक सय ९८ आकर्षक र रङ्गिन चित्रले सुुसज्जित रहेको छ । साथै पुस्तकमा केही धर्म, कला र संस्कृति सम्बन्धितस्तरीय अङ्ग्रेजी भाषामा लेखसमेत समावेश गरिएको छ ।