कात्तिक ११, २०८१ आइतबार

काठमाडौँ, ११ कात्तिकः मुलुकको सुरक्षा निकायका पूर्ववरिष्ठ अधिकारीले आर्थिक विकास र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ ।

    नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन)द्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सुरक्षा र विकास’ कार्यक्रममा अधिकारीहरुले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक विकास नभई देशको सुरक्षा अवस्था बलियो हुन नसक्ने धारणा राख्नुभयो ।

    त्यस अवसरमा नेपाली सेनाका पूर्वउपरथी डा पूर्ण सिल्वालले कतिपय विषय आर्थिक आयआर्जन र रोजगारीसँग जोडिएकाले त्यस्ता विषय सम्बोधन नभएसम्म सुरक्षा सुदृढ हुन नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “देशका सबै राजनीतिक दल राष्ट्रहित र एकताको पक्षमा उभिनुपर्छ, राष्ट्रिय सुरक्षाका विषयमा एउटै बुझाइ हुनुपर्छ, नेपालीपनलाई पुनर्जीवित तुल्याउनपर्छ, देश विकासको पथमा अघि बढ्नुपर्छ, अनि सुरक्षा अवस्था बलियो हुनसक्छ ।”

    नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक हेमन्त मल्लले कानुनविपरीत भीडले जित्न खोज्ने प्रवृत्ति मौलाएकाले समाजमा अराजकता, दण्डहीनता र अनुशासनहीनता बढिरहेको जिकिर गर्नुभयो । “राजनीतिक सङ्क्रमणकाल जति लामो हुन्छ, त्यति नै सुरक्षा चुनौती रहिरहन्छ । अपराधका घटनाको ग्राफ हेरेर मात्र सबै सुरक्षा अवस्था निर्धारण गर्न सकिन्न”, उहाँले भन्नुभयो । 

    सशस्त्र प्रहरी बल नेपालका पूर्वअतिरिक्त महानिरीक्षक पुष्पराम केसीले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न सीमा सुरक्षा बलको सङ्ख्या बढाउनुपर्ने तथा सीमा नियमनमा ध्यान दिन सुझाव दिनुभयो ।

    राष्ट्रिय अनुसन्धान विभागका पूर्वमुख्य निर्देशक गणेशप्रसाद अधिकारीले एउटा सफल राज्यका लागि कूटनीतिक, सूचना सङ्कलन, सैनिक र अर्थतन्त्र महत्वपूर्ण खम्बा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिसुरक्षा र अमनचयनका हिसाबले दक्षिण एसियामा भूटानपछि नेपाललाई सुदृढ मुलुकका रुपमा लिने गरिएको छ । केही आन्तरिक र सम्भावित बाह्य चुनौतीबाहेक अरुका तुलनामा नेपालको सुरक्षा अवस्था राम्रो छ ।”