कात्तिक ११, २०८१ आइतबार

    ला पाज, ११ कात्तिक: बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताउनुभएको छ । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीहरूले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उहाँले बताउनुभयो ।     
     
 “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्”, मोरालेसले भन्नुभयो, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार थियो ।”     
     
 अन्तर्वार्ता गर्ने रेडियो स्टेशन कौसाचुन कोकाले मोरालेस सवार भएको गोली लागेको पिकअप ट्रकको भिडियो सार्वजनिक गरेको छ । विन्डशिल्डमा तीन गोली लागेका प्वाल थिए र चालकको टाउकोमा रगत देखिन्थ्यो ।     
     
 मोरालेसले वर्तमान राष्ट्रपति लुइस आर्सेलाई आक्रमणको दोष दिनुभयो । लुइस आर्से मोरालेसका पूर्वसहयोगी र मन्त्रिपरिषद् सदस्य हुनुहुन्थ्यो । दुवैबीच सम्बन्ध बिग्रिएको छ ।     
     
 “लुचोले बोलिभियालाई नष्ट गरेका छन् र अब उनी इभोलाई मारेर हाम्रो प्रक्रियालाई समाप्त गर्न चाहन्छन्”, मोरालेसले राष्ट्रपतिको उपनाम प्रयोग गर्दै आफ्नै राष्ट्रपति पद पुनः प्राप्त गर्ने प्रयासका बारेमा भन्नुभयो ।     
     
 अहिले ६५ वर्ष पुग्नुभएका मोरालेस पूर्व कोका उत्पादक र २००६ देखि २०१९ सम्म राष्ट्रपति हुनुहुन्थ्यो । चौथो कार्यकालका लागि संविधान छल्ने प्रयास नगर्दासम्म उहाँ बोलिभियामा अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो ।     
     
 धाँधलीको आरोप लागेको चुनावपछि सेनाको समर्थन गुमाएपछि उहाँनलाई राजीनामा दिन बाध्य पारियो र उहाँ मेक्सिको भाग्नुभयो । उहाँ सन् २०२० मा राजनीतिक पुनर्जीवनको खोजीमा बोलिभिया फर्कनुभयो ।     
     
 उहाँ र आर्से दुवै सन् २०२५ अगस्टको राष्ट्रपतीय चुनावमा सत्तारूढ एमएएस पार्टीको उम्मेदवारीका लागि प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । यद्यपि मोरालेसलाई कानूनी रूपमा फेरि उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको छ ।     
     
 मोरालेसमाथि सन् २०१५ मा उहाँको राजनीतिक युवा गार्डकी १५ वर्षीया सदस्यसँगको कथित यौन सम्बन्धका लागि बलात्कार, मानव बेचबिखन र मानव तस्करीको अनुसन्धान भइरहेको छ ।     
     
 उहाँका समर्थकहरूले दुई हप्तादेखि देशभरका प्रमुख सडकहरू अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।     
     
 राष्ट्रपति आर्सेले व्यवस्था पुनःस्थापना गर्ने अभियानका रूपमा शनिबार सैन्य नेतृत्व परिवर्तन गर्नुभयो ।     
     
 मोरालेसका नजिकका सांसद एन्जेलो सेस्पेडेसले आइतबारको गोली प्रहारपछि कोचाबाम्बा विमानस्थलबाट छ जना सवार एउटा हेलिकप्टर उड्दै गरेको भिडियो देखेको बताउनुभयो ।     
     
 “हामीलाई निश्चित छैन कि तिनीहरू सैनिक हुन् वा प्रहरी, तर तिनीहरूको वास्तविक चाहना इभो मोरालेसको हत्या गर्नु हो”, उहाँले भन्नुभयो, “हिजो उनीहरूले सैन्य नेतृत्व परिवर्तन गरे र आज इभो मोरालेसको हत्या गर्ने प्रयास गरे ।”