कात्तिक ११, २०८१ आइतबार

वीरगञ्ज (पर्सा), ११ कात्तिकः खानेपानीमन्त्री प्रदीप यादवले नारायणी रङ्गशालाको स्तरोन्नति कार्यलाई प्रभावकारी बनाउन स्थानीय र सङ्घीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

    रङ्गशालाको आज अनुगमनका क्रममा मन्त्री यादवले युवा प्रतिभाहरूको विकास र खेलकुदको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवद्र्धधन गर्न खेल पूर्वाधारलाई समयमै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नारायणी रङ्गशालाको विकासमा पर्सा क्रिकेट सङ्घको भूमिका महत्वपूर्ण छ । सरकार आगामी दिनमा थप सहयोग र स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध छ ।”

    मन्त्री यादवले नारायणी रङ्गशालाको स्तरोन्नतिमा मुख्य अवरोध बनेको मुआब्जा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । केही दिनअघि मन्त्री यादवले खेलकुदमन्त्री तेजुलाल चौधरीसँग भेट गरी मुआब्जा विषय चाँडो टुङ्ग्याउन आग्रह गर्नुभएको थियो ।

    वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नारायणी रङ्गशालाको विकासलाई वीरगञ्जको खेलकुद इतिहासको महत्वपूर्ण परिवर्तनको रूपमा व्याख्या गर्नुभयो । उहाँले रङ्गशालाको स्तरोन्नतिले खेल क्षेत्रको विकासका साथै स्थानीय अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । 

    पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले नारायणी रङ्गशाला निर्माणपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्नसकिने बताउनुभयो । मन्त्रालय र स्थानीय निकायबीच समन्वय तथा निरन्तर सहयोग आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।