साउन २०, २०७८ बुधबार

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो । देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ ।

यस्तै, कोरोनाविरुद्धको खोप खरिदका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १६५ मिलियन अमेरिकीडलर (करिब रु १९ अर्ब ५८ करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।