कात्तिक १२, २०८१ सोमबार

चितवन, १२ कात्तिक : यहाँको रत्ननगरस्थित सौराहा सभाहल निर्माण सम्पन्न भएको छ । उक्त सभाहलको आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले औपचारिक उद्घाटन गर्नुभयो ।

    मन्त्री सिंहले सङ्घीय सरकारले निर्माण गरेका यस्ता संरचनालाई स्थानीय तह, जिल्ला, प्रदेश र संघ सबै मिलेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सौराहा सभाहल निजी क्षेत्रसँगको सहभागितामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

    सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रालयले यस्ता सभाहल ठाउँठाउँमा बनाइरहेको र स्थानीय सरकारलाई व्यवस्थापनको जिम्मेवारी दिदैं आएको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले सभाहलमा थप संरचना बनाउनुपर्ने भएकाले थप बजेट उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गर्नुभयो ।
 
    सभाहलको मुख्य हलको क्षमता एक हजार जनाको छ भने तीन वटा एक सय ५० जनाको क्षमताका हल छन् । दुई हजार एक सय २९ दशमलव दुई सय ३७ वर्गमिटरमा निर्माण गरिएको सो सभाहल एक बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो ।
 
    अपाङ्ग मैत्री, वातावरण अनुकूलित एवं अग्नी नियन्त्रणका लागि फायर फाइटिङको सुविधासहित भवन निर्माण गरिएको हो । सो सभाहल रु ४३ करोड ४० लाख ८८ हजार छ सय चारमा निर्माण भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले सौराहा सभाहल निर्माण गरी आज रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।