कात्तिक १२, २०८१ सोमबार

काठमाडौँ, १२ कात्तिक : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनका क्षेत्रमा लगानीको वातावरण तयार गरिरहेको बताउनुभएको छ । 

    गैरआवासीय नेपाली सङ्घको वार्षिक साधारणसभाको दोस्रो दिन आज आयोजित ‘ग्लोबल कन्क्लेभ’ मा बोल्दै उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा लगानीको वातावरण हामी बनाइदिन्छौँ । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौँ । त्यसमा तपाईँहरुले सहयोग गर्नुहोस् ।”

     मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारिएको र संसदको आगामी अधिवेशनबाट ऐनहरु आउने विश्वास व्यक्त गर्नुभयो । 

    सो अवसरमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्दै आउनुभएकी म्यानमार निवासी ८१ वर्षीया भारती लिम्बुनीलाई मन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो ।