कात्तिक १२, २०८१ सोमबार

सिमकोट (हुम्ला), १२ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्लाको वास्तविकता, यहाँका जनजीविका सवाल, विकास निर्माण, कृषि सम्भावनालगायतका विषय बुझ्न आफू यहाँ आएको बताउनुभएको छ । 

     प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रदेश सरकार र सङ्घ सरकारका विभिन्न योजना, विकास कामको अनुगमन गर्ने आफ्नो उद्देश्य रहेको स्पष्ट पार्नुभयो । बजेट कार्यान्वयन अवस्था बुझ्नका लागि आफू हिमाली जिल्ला आइपुगेको उहाँको भनाइ छ ।

    मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतसँग सिधैँ हवाई उडानका लागि पहल भइरहेको जानकारी दिँदै जिल्लामा हुने नियमीत हवाई उडानका समस्याबारे आफू जानकार रहेको बताउनुभयो । सुर्खेत–हुम्ला नेपाल एयरलाइन्सको नियमीत उडानका लागि सङ्घीय सरकारसँग पहल हुने उहाँको भनाइ छ । 

    अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाउँदै मुख्यमन्त्री कँडेलले जिल्लाको विकास र यहाँका जनताको समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध छ भन्नुभयो । 

    कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजय बुढा बोहराले सिमकोटमा देखिएको खानेपानी समस्यालाई आफ्नो मन्त्रालयले तत्काल समाधान गर्ने आश्वासन दिनुभयो ।