कात्तिक १२, २०८१ सोमबार

पाटन (ललितपुर), १२ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    पाटन संग्राहलयको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्दै एकपटक नेपाल नआएका मानिसलाई खुला सम्पदाको देश जानुपर्छ भन्ने भावना जगाउनुपर्ने बताउनुभयो ।

    “हाम्रा गौरवहरू सङ्ग्रहालयभित्र मात्रै सीमित छैनन्, हामीसँग हिमाल, पहाड तराई विविधतापूर्ण प्रकृति छ, संसारभर रहेका आठ हजारभन्दा माथि उचाइका चुलीहरू रहेका छन्, यी विषय संसारभर परिचित गराउनुछ ।”, मन्त्री पाण्डेले भन्नुभयो । उहाँले नेपालको आकाश सुरक्षित, सुचारू र गतिशील छ भन्ने पनि प्रत्याभूति गर्नुपर्ने दायित्व रहेको भन्दै मन्त्रालय त्यसतर्फ तदारुकताका साथ लागिरहेको प्रष्ट पार्नुभयो ।

    भूकम्पले क्षति पु¥याएका संरचना जस्ताको तस्तै नयाँ बनेको बताउँदै मन्त्री पाण्डेले पुरातात्विक हिसाबले हाम्रो कला संस्कृतिलाई नवनिर्मित संरचनाले निरन्तरता दिएको बताउनुभयो ।

    संस्कृति महाशाखा प्रमुख सुरेश सुरज श्रेष्ठले विविध विषयका सङ्ग्रहालयलाई समेट्ने र व्यवस्थित बनाउनुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय ऐनको प्रयास गरिरहेको बताउनुभयो ।

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानले सङ्ग्रहालयसँग सम्बन्धित सामग्रीको सङ्कलन, प्रदर्शनी, सुरक्षा गर्ने कार्य, सूचना प्रवाह गर्ने, अध्ययन अनुसन्धानका काम व्यवस्थित गर्नेलगायतका काम गरेर राजस्व सङ्कलन गर्ने काम गरिरहेको पाटन दरबार सङ्ग्रहालयले उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।

    पाटन दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक मञ्जुसिंह भण्डारीले मल्लकालीन, शाहकालीन र राणाकालीन सम्पदाको विशिष्टताले गर्दा सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सफल भएको बताउनुभयो ।

    समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पाटन सङ्ग्रहालय विकास समितिका अध्यक्ष डा गणेशप्रसाद पाण्डेय, प्रतिनिधिसभा सदस्य उदयसम्शेर राणा, प्रेमबहादुर महर्जन ललितपुरका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।