कात्तिक १२, २०८१ सोमबार

काठमाडौँ, १२ कात्तिक : आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवा आज फाइनलमा प्रवेश गरेकी छन् ।

    बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकी फरेरालाई ५–० ले पराजित गरिन् । स्वस्तिकाले ब्राजिलकै खेलाडीलाई फाइनल प्रतिद्वन्द्वीका रुपमा पाएकी छन् । मङ्गलबार हुने फाइनलमा स्वस्तिकाले ओलिभिएराको सामना गर्ने छिन् ।

    पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पाले मङ्गलबारै फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । नेपालबाट बक्सिङमा ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष ६३ केजीमुनि नेपालका युनिक राई मात्र पदक विहीन बने । पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्यले पनि कास्य निश्चित गरिसकेका छन् ।

    तेक्वान्दोमा नेपालकी निविता केसीले कास्य पदक जितेकी छन् । इसा स्पोर्ट्स सिटी हल ‘सी’ मा भएको खेलमा निविताले ६ दशमलव ४८२ अङ्क जोडिन् । चार खेलाडी सहभागी उक्त स्पर्धामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते । अर्को तेस्रो हुने राष्ट्रमा भारत रह्यो ।

    पुरुष ६८ केजीमुनि नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसँग २–० ले पराजित भए । पहिलो राउन्डमा १३–० ले पछि परेका अविनले दोस्रो राउन्डको नतिजा ७–६ ले सुम्पिए । विश्व तेक्वान्दो (डब्लुटी) ले यो प्रतियोगितालाई जि वान ¥याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (आइएसएफ) का कार्यकारी सदस्य एवं आइएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जानकारी दिनुभयो । 

    टेबलटेनिसको महिला टिम इभेन्टमा नेपालले १०औँ स्थान हासिल गरेको छ । इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा नेपालले युगान्डालाई ४–१ को सेटमा पराजित गर्‍यो । नवौँ स्थानका लागि भएको खेलमा भने अजरवैजानले नेपाललाई ४–१ ले हरायो ।

    महिला टिम इभेन्टमा नेपालका इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिङ्गल्समा सहभागिता जनाउने छन् । पुरुष सिङ्गल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्ने छन् । सिङ्गल्स खेल मङ्गलबारदेखि हुनेछ ।

    ब्याडमिन्टनको पुरुष सिङ्गल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन् । इसा स्पोर्ट्स सिटी हल ‘ड’ मा कविरले भारतका कायाउ तेत्लाई २१–१ र २१–४ को सोझो सेटमा सहजै पराजित गरे । नेपालबाट ब्याडमिन्टन सहभागी हुने कविर एक्लो खेलाडी हुन् ।