लोक्सुमे (इन्डोनेसिया), १५ कात्तिक; पश्चिमी इन्डोनेसियाको समुद्री तटमा बालबालिकासहित दर्जनौँ रोहिङ्ग्या शरणार्थी फसेको तथा उनीहरू नजिकै छ जनाको शव फेला परेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
उत्पीडित अल्पसङ्ख्यक शरणर्थीहरू जीवन बचाउनका लागि प्रत्येक वर्ष लामो र खतरपुर्ण समुद्री यात्रा तय गरी मलेसिया तथा इन्डोनेसिया पुग्ने आशामा डुङ्गाको यात्रा गर्ने गर्छन ।
आचेह प्रान्तको समुद्री तटबाट करिब एक सय मिटर टाढा बिहीबार बिहानै शरणार्थीहरूलाई छाडिएको पूर्वी आचेहका ग्रामीण अधिकारी सैफुल अन्वरले बताउनुभयो ।
उहाँका अनुसार उक्त समूहमा ४६ महिला, ३७ जना पुरुष र सात जना बालबालिका थिए भने दुई वटा शव किनारमा र चारवटा समुद्रमा तैरिरहेका थिए ।
स्थानीय बासिन्दाहरूबाट प्राप्त जानकारी अनुसार यी शरणर्थीरूलाई बिहान चार बजेतिर एउटा डुङ्गाले ल्याएर छोडेको थियो । आठ जना बिरामी शरणार्थीलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पूर्वी आचेहका कार्यवाहक प्रमुख जिल्ला अधिकारी अमरुल्लाह एम रिधाले पत्रकारहरूलाई अधिकारीहरूले उनीहरूलाई आश्रय नदिएसम्म शरणार्थीहरूलाई समुद्र तटमा तम्बुहरूमा राखिने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले शरणार्थी आगमन बारे थाहा भएको जनाए पनि थप जानकारी दिन नसक्ने बताएको छ ।
आचेहका कार्यवाहक गभर्नर सफरिजलले पत्रकारहरूलाई ‘मानव बेचबिखन माफिया गतिविधि’ पछिल्लो शरणर्थी आगमनका लागि जिम्मेवार रहेको बताउनुभयो ।
यस महिना पश्चिमी इन्डोनेसियामा आगमन गर्ने यो तेस्रो शरणर्थी समूह हो । एक सय ५० भन्दा बढी शरणार्थी आचेहमा र अन्य एक सय ४० जना उत्तरी सुमात्रा प्रान्तमा आइसकेका छन् ।
युएनएचसि आरका अनुसार सन् २०२३ जनवरीदेखि २०२४ मार्चको बीचमा दुई हजार पाँच सय रोहिङ्ग्या डुङ्गामार्फत आचेहमा आएका थिए ।
पछिल्लो समयमा मुस्लिम जातीय समूहले म्यान्मामा उत्पीडनको सामना गरिरहेको अवस्थामा धेरैले सैन्य दमनबाट भागी छिमेकी बङ्लादेशको शरणार्थी शिविरमा शरण लिएका छन् ।