कात्तिक १६, २०८१ शुक्रबार

दाङ, १६ कात्तिक(रासस)ः दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय(मेट्रो कलेज)लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक कलेज बनाउने तयारी गरेको छ । यसका लागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कार्यविधिलाई नगरसभाबाट अनुमोदन गरेर आङ्गिक बनाउने विषयमा विश्वविद्यालयसँग थप छलफल गरिने बताउनुभयो ।

“एकातर्फ प्राविधिक विषय पढाइ हुन्छन्, अर्कोतर्फ आङ्गिक कलेजका रुपमा शिक्षण हुन्छ”,उहाँले भन्नुभयो“यसका लागि परामर्श बैठक भइरहेको छ ।” यो विषयमा विश्वविद्यालय पनि सकारात्मक रहेको उहाँको भनाइ छ । आङ्गिक भएमा शिक्षक कर्मचारीको भविष्य पनि उज्जवल  हुने उहाँको भनाइ थियो । अहिले कलेजमा सिटिइभिटी अन्तरर्गत इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ, मेकानिकल इञ्जिनीयरिङ, फरेष्ट्रि, फुड एण्ड डेरी, एग्रिकल्चर र फार्मेसी विषय पढाइ रहेका छन् । त्यस्तै विश्वविद्यालय अन्तर्गत विएएलएलबी, विएचटिएम, विविएका कक्षा भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो गौरवको रुपमा मेट्रो कलेजलाई लिएको छ ।