कात्तिक १७, २०८१ शनिबार

काठमाडौँ, १६ कात्तिक : अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा डा दीर्घराज घिमिरेलाई प्रदान गर्ने भएको छ ।

  पूर्वीय दर्शन र दर्शनशास्त्रका विभिन्न क्षेत्रमा सक्रिय घिमिरेलाई यस वर्षको उक्त पुरस्कार दिने निर्णय गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले राससलाई जानकारी दिनुभयो । समाजले २०६५ सालदेखि हरिप्रसादको जन्म महिना पारेर कात्तिकमा पुरस्कार वितरण गर्दै आएको छ ।

    समाजले २०६५ सालदेखि नै संस्कृति, दर्शन, ज्योतिष र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । पहिलोपटक २०६५ सालमा यो पुरस्कार प्राज्ञ डा जगमान गुरुङलाई प्रदान गरिएको थियो । विसं २०६५ मा समाजको अध्यक्ष समेत रहनुभएका घिमिरेले अक्षयकोषमा रु चार लाख राखी पुरस्कार स्थापना गर्नुभएको हो । 

    हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा ख्यातिप्राप्त ज्योतिषीका रुपमा स्थापित हुनुहुन्थ्यो । पुरस्कार यही कात्तिक २४ गते शनिबार गोकर्णेश्वर नगरपालिका–५ स्थित भैरव स्मृति भवन, नयाँवस्तीमा आयोजना हुने २७३ औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा वितरण गरिने समाजले जनाएको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।